पृष्ठभुमी

प्रदेश ३

नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यसै व्यवस्था अनुरुप सम्माननीय राष्ट्रपतिद्वारा प्रदेश नं.३ का लागि प्रदेश प्रमुखका रुपमा माननीय अनुराधा कोइरालालाई मिति २०७४ साल माघ ५ गते संविधानको धारा १६३ उपधारा (२) बमोजिम नियुक्त गरिएको हो ।

संविधानले प्रदत्त गरेको प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारलाई सहयोग गर्न निजामति सेवा प्रशासन समूहका सचिव (रा.प. प्रथम श्रेणी) को नेतृत्वमा प्रशासनिक काम कारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ ।

संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयको स्थापना गर्ने क्रममा प्रदेश नं.३ को प्रदेश प्रमुखको कार्यालयको स्थापना मिति २०७४ साल माघ ७ गते भएको हो । प्रदेश नं.३ अस्थायी राजधानीका रूपमा रहेको मकवानपुर जिल्लाको हेटौडा बाट प्रदेश प्रमुखको कार्यालय ‍(साविकको मध्यमाञ्चल क्षेत्रीय प्रशासन भवनमा) संचालन भएको छ । नेपालको संविधान बमोजिम प्रदेश नं. ३ का प्रदेश प्रमुखबाट मुख्यमन्त्री, मन्त्री एवं सभामुख उप सभामुखको नियुक्ति एवं शपथ गराउने, प्रदेश सभाबाट प्रमाणिकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणिकरण गर्ने, प्रदेश सभाको अधिवेशनको आव्हान र अन्त्य सम्बन्धी कार्यका लागि व्यवस्थापकीय र सूचना तथा समन्वय गर्ने कार्य यस कार्यालयको मुख्य काम हो । यी कार्यहरु सम्पादन प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सहमतीबाट हुने गर्दछ ।

यस कार्यालय अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा निजामती तर्फ १९ र स्वकीय सचिवालयमा १२ जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।